काठमाडौँ / सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको रिटको पेसी पूर्ण इजलासमा तोकिएको छ ।
पूर्ण इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडाल रहेका छन् ।
महान्यायधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरावलोकन रिट दायर गरेको हो ।
रिटको सुनुवाइका लागि पहिलो पटक १० चैत २०७८ मा न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
तर, उक्त दिन रिटलाई सर्वोच्चले ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो । त्यसपछि आज सुनुवाइका लागि रिटको पेसी तोकिएको हो ।
१५ असार २०७७ मा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाउने फैसला गरेको थियो । जसअनुसार साढे आठ वर्ष कैद बसेर कोइराला कारागारमुक्त भएका थिए ।
उक्त फैसला पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै आलोचना भएको थियो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालय फैसला पुनरवलोकनको माग गर्दै सर्वोच्च पुगेको हो ।