बिर्तामोड / राप्रपाका केन्द्रीय सदस्य तथा नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । अर्काको जग्गाको किर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार पौडेलसहित सुनसरीको धरान- ९ घर भइ काठमाडौं- १० मा बस्दै आएका ५९ वर्षीय गोकुल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरूले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेको दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको पोखरेलले बताए ।