एजेन्सी / इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आज सम्पन्न पहिलो क्वालिफायर्स खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलमा स्थान सुरक्षित गरेको छ । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेल गुजरातले राजस्थान माथि ७ विकेटको सानदार जित निकालेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाउँदा कप्तान सन्जु सामसनले ४७ रन बनाए । त्यस्तै देबदत्त पार्डिकलले २८ रन बनाए । बलिङतर्फ गुजरातका मोहम्मद शमी, यश डायल, रबि श्रीनिवासन् साइ किशोर र हार्दिक पाण्ड्याले समान १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको गुजरातलाई लक्ष्यसम्म पुर्याउन डेभिड मिलरले अविजित ६८ रनको योगदान दिँदा कप्तान हार्दिक पाण्ड्याले अविजित ४० रनको योगदान दिए । त्यस्तै म्याथ्यु वेड र शुभमन गिलले समान ३५ रन बनाए । बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकोइले समान १ विकेट लिएका थिए ।
जितसँगै गुजरातले फाइनलमा स्थान बनाएको छ भने राजस्थानले दोस्रो क्वालिफायर्स खेल्नेछ । बुधवार रोयल च्यालेन्जर्स बैङ्ग्लोर र लखनउ सुपर जाइन्टबीच इलिमिनेटरको खेल हुनेछ । जसमा जित निकाल्ने टोलीले राजस्थानसँग फाइनलका लागि क्वालिफायर्स खेल्नेछ ।