काठमाडौं / सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी अनलाइन मार्फत २८ लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका- ८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् । 

उनलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितहरूलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ । 
उनले अमेरिकाबाट सञ्चालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरूलाई विश्वासमा पारी ठग्ने गरेको प्रहरीको भनाई छ ।

OM Sai Pathibhara Hospital

नेपालमा रहेका विभिन्न ब्यक्तिहरूको बैंक खातामा रकम जम्मा गर्न लगाई उनले २८ लाख ७९ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।