काठमाडौं / गृह मन्त्रालयको बढुवा समितिको सोमबारको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको छ । 

सो सिफारिस सदर भएको अवस्थामा नेपाल प्रहरीको इतिहासमा प्रशासन (जनपथ) तर्फको पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक पूजा सिंह बन्ने भएकी छन्  ।

OM Sai Pathibhara Hospital

सिफारिस भएको एक साताभित्र उनीविरुद्ध कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे नेपाल प्रहरीको इतिहासमा सिंह पहिलो महिला एआईजी बन्ने भएकी हुन् । 

यसअघि पार्वती थापा पहिलो महिला एआईजी बन्ने देखिए पनि सरकारले उनको बढुवा रोकेको थियो । थापा सिनियर हुँदाहुँदै उनलाई छाडेर सरकारले उपेन्द्रकान्त अर्याललाई एआईजी बनाएको थियो । 

नेपाल प्रहरीमा प्राविधिकतर्फ भने यसअघि नै महिला एआईजी भइसकेका छन् । प्रहरी अस्पतालमा डाक्टर आशा सिंह पनि प्राविधिक (डाक्टर) तर्फको एआईजी हुन् । 

सिंह मधेसी महिलाको रुपमा नेपाल प्रहरीको डीआईजी बन्ने पहिलो अधिकृत पनि हुन् । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्त समेत हुन् ।

डीआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी र दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

केही दिनअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।