काठमाडौं / काठमाडौं महानगरपालिका-१६ मा एक पुरुषको हत्या गरी बोरामा प्याक गरेर शव विष्णुमती खोलामा फालिएको अवस्थामा भेटिएको छ । हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

गत जेठ ५ गते दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बागमती नदी किनारमा सड्न लागेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । बोरामा प्याक गरेर फालिएको अवस्थामा भेटिएको शव बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । 
अनुसन्धानका क्रममा मृत भेटिएका व्यक्ति सिन्धुपाल्चोकको जुगल गाउँपालिका-८ बराम्चे घर भई काठमाडौंको नयाँबजार बस्दै आएका ३५ वर्षीय जीवन भनिने कान्छा लामा तामाङ भएको खुलेको छ । शवको सनाखत भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर घर भएका ४५ वर्षीय ठोकर कान्छा भनिने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपालिका-६ लेले घर भएका ४० वर्षीया गायत्री नगरकोटी छन् । उनीहरूलाई जेठ ६ गते पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए । 

मदिरा सेवन गर्ने क्रममा विवाद हुँदा तामाङको हत्या भएको पाइएको कोइरालाले जानकारी दिए । नयाँबजार विष्णुमती पुल नजिक बालाजु संरक्षण समिति एंव शिव मन्दिर पहलमान पौवा परिसरभित्र रहेको भवनको कोठामा तामाङ बस्दै आएका थिए । 
उनीहरु सँगै मदिरा पिउने क्रममा वैशाख २८ गते विवाद भएको थियो । विवाद भएपछि हाल पक्राउ परेका दुई जनाका साथै मकवानपुर फापरबारी ठूलो कायर घर भएका दीपक वाइवा समेत मिलेर तामाङलाई कुटपिट गरेका थिए । 

उनीहरुले टाउकोमा हम्मरले हान्नुका साथै घाँटीमा सलले कसेर तामाङको हत्या गरेको पाइएको एसपी कोइरालाले बताए । हत्या पश्चात खुट्टा खुम्च्याएर सलले बाँधेको, शवलाई तन्ना, म्याट्रेसले बसेर प्लाष्टिकमा प्याक गरेर बोराभित्र हाली डोरीले बाँधेर विष्णुमती खोलामा उनीहरूले फालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।