बिर्तामोड / झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका- ११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ वर्षीय हरदिप राजवंशी, भारतीय नागरिक दार्जिलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ वर्षीय अर्जुन रोय रहेका छन् । उनीहरूको साथबाट प्रहरीले दुई सय तीन ग्राम चार सय दश मिली ग्राम लागूऔषध ब्राउनसुगर , नगद ३८,७३०९ रुपैयाँ र उनीहरूले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८ तथा डब्लु बी ७४ भी ६४३९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी मोरङको बेलबारी नगरपालिका-३ बाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलबारी स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२- ०४८ प ९७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको लुकिङ ग्लास भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित बुढीगंगा गाउँपालिका-७ का २६ वर्षीय रूपेश चौधरीलाई पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।