बैतडी / कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका –१० को वडा अध्यक्षमा विजयी भएका वडा अध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् ।  

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका वडा अध्यक्ष धनबहादुर कुवँरले आइतबार पदभार ग्रहण गरेकै दिन छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता निर्णय गरेका हुन् । 

OM Sai Pathibhara Hospital

पदभार ग्रहण गर्दै लैङ्गिक असमानता हटाउन पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप एक हजार रुपियाँ प्रदान गर्ने निर्णय भएको वडाध्यक्ष धनबहादुर कुँवरले बताए ।  

वडाध्यक्ष कुँवरले भन्नुभयो, “समाजमा अहिले पनि महिला र पुरुषबीच विभेद छ। छोरी जन्मेकै कारण महिलामाथि लैङ्गिक हिंसा हुने गरेको छ। महिला पुरुष बराबरी हुन् भन्ने सन्देश दिन छोरी जन्माउने महिलालाई प्रोत्साहन भत्ता दिने निर्णय गरेका हौं।”

छाउपडी भएका बेला अहिले पनि ग्रामीण क्षेत्रमा अछुतको व्यवहार हुने गरेको भन्दै वडा अध्यक्ष कुँवरले समाजमा हुने सबै खाले विभेद अत्यका लागि आफ्नो कार्यकालमा दत्तचित्त भएर लाग्ने बताए ।