बुटवल / अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । 

प्यूठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० बर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

शितगंगा नगरपालिका –७ र ९ को सीमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए । 

प्युठान फोप्लीका उनीहरु अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वारानको भोज खान आएका थिए । शुक्रबार राती औले आएका उनीहरु शनिबार न्वारानको भोज खाएर खोलामा माछा मार्न गएका थिए । 

माछा मार्न भन्दै जाल बोकेर खोलामा गएका उनीहरु खोलाको रहमा डुबेका थिए । शव जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।