एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टिट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । आजका खेलमा पराजित भए दिल्लीको यो सिजन आईपीएल यात्रा समाप्त हुनेछ । यता मुम्बई आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

OM Sai Pathibhara Hospital

लिगमा १३ खेल खेलेको दिल्ली १४ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको बैंगलोरको १४ खेलबाट १६ अंक छ । दिल्लीले जित निकाल्न नसकेमा बैङ्गलोर प्लेअफमा पुग्नेछ । दिल्लीले जितेमा समान १६ अङ्क भएपनि नेटरनरेटका आधारमा दिल्ली प्लेअफमा पुग्ने छ । त्यसैले दिल्लीलाई आजको खेलमा जितको विकल्प छैन ।