झापा / स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।
सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।
तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त भएका थिए । आचरणविपरीत गतिविधि गरेको कसुरमा उनीहरुलाई बर्खास्त गरिएको थियो ।
उनीहरुलाई ४० दिनको अवधि तोकी एक साताको सुरक्षा तालिम दिएर २८ चैतबाट खटाइएको थियो । उक्त अवधि शुक्रबार सकिएको हो ।
म्यादी प्रहरीलाई प्रहरी जवानसरह सेवा सुविधा दिइएको थियो । सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ ।
पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत रु. चार हजार २००, भ्रमण भत्ता रु. एक हजार २०० र पोशाक भत्ताबापतको रु. छ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता रु. ३२ हजार ४०० कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।