बिर्तामोड / बलात्कारको आरोपमा झापाको गौरीगञ्जबाट एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका –५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् ।
३ जेठ २०७४ मा उदयपुरको ताप्लीस्थत गहते जङ्गलमा लगेर १४ वर्षीया एक बालिकालाई बलात्कार गरी बेहोस बनाएर पोख्रेल फरार भएका थिए ।
उदयपुरबाट फरार भएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पुरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको छ।
पोख्रेललाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै उदयपुर जिल्ला अदालतले २०७७ साल मङ्सिर २३ गते ९ वर्ष जेल सजाय र एक लाख रुपैंया पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।