बिर्तामोड / सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेसँगै उमेर हदका कारण लामा दुई दिनका लागि मात्र एआईजी बनेका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले लामालाई दुई दिनका लागि एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
५६ वर्षे उमेर हदका कारण लामाको कार्यकाल यही ७ जेठको मध्यरातसम्म मात्र रहेको छ । त्यसपछि उनी अनिवार्य अवकाशमा जानेछन् । सरकारले लामालाई एआईजीमा बढुवा गरेपछि शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २३ वैशाखमा प्रहरीको एआईजीमा लामालाई एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रहरी नियमावलीअनुसार सिफारिस भएको ७ दिनभित्र बढुवाविरुद्ध उजुरी दिन सकिने व्यवस्था रहेको छ ।
त्यस अवधिभित्र उजुरी नपरेपछि सरकारले बढुवा गर्न सक्ने भए पनि निर्वाचन र प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण मन्त्रिपरिषद् बैठक बस्न नसक्दा उनको बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।
प्रहरीमा एआईजीका लागि ५ पद रिक्त भए पनि लामालाई मात्र बढुवा समितिको सचिवालयले एआईजीमा सिफारिस गरेको थियो । लामाले ३३ किलो सुन तस्करी प्रकरणको पनि अनुसन्धान समितिमा रहेर काम गरेका थिए ।