रौतहट  / रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका –२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् । 

उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई -२ स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।

मतदान स्थगित भएपछि मानिसहरूको हुलले जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए।  प्रहरीले हवाई फायर गरेपछि बैठाले मतपेटिका छाडेर भागेका थिए । घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन् । उनले १७ वर्ष प्रवरी सेवामा संलग्न थिए । विमानस्थलबाट लागू औषधको मुद्दामा परी करिब ३० महिना कैद र २५ हजार जरिवाना भुक्तानी गरी प्रहरीबाट २०७१ सालमा बर्खास्त भएका थिए ।