काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।  । 

OM Sai Pathibhara Hospital

त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । 

सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरूको संलग्नता देखाएकी थिइन् ।