गोर्खा / चर्चामा रहेको गोर्खाको पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
२०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको जसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा मेयर र उपमेयर दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
मतगणनाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तन ६ हजार ७२ मतका साथ विजयी भएका छन् । उनले जसपा–एमाले गठबन्धनबाट मेयरका उम्मेदवार प्रेम गुरुङ्गलाई ३ सय ५५ मतान्तरले पराजित गरेका हुन्।
चिन्तनले ६ हजार ७२ मत प्राप्त गरेका छन् भने जसपाका गुरुङ्गले ५ हजार ७ सय १७ मतमात्र प्राप्त गरेका छन् । नेपाली कांग्रसका दीपकबाबु कँडेल ४ हजार ९ सय ९७ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।
कांग्रेस उम्मेदवार कँडेल २०७४ को निर्वाचनमा पालुङको मेयरमा विजयी भएका थिए। उनले त्यो बेला ६ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । निटकतम प्रतिद्वन्द्वी चिन्तनले विजयी कँडेल भन्दा २ सय ७ कम अर्थात् ४ हजार ९ सय ९१ मत प्राप्त गरेका थिए।
यसपटकको निर्वाचनमा पालुङ्गटारमा नेपाली कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै प्रतिस्पर्धामा थिए भने जसपा–एमालेबीच गठबन्धन भएको थियो ।
गठबन्धनमा जसपाले मेयर र एमालेले उपमेयर पाएको थियो । तर, गठबन्धनका बाबजुद माओवादी केन्द्रले यहाँको मेयर–उपमेयर दुबैमा विजय हासिल गर्यो।