दाङ / दाङको तुलसीपुरमा गएराति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवारी दिएका ४६ वर्षीय सुशील गन्धर्व रहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ वर्षका सुमन नेपाली, २० वर्षका सुदन नेपाली फरार रहेको प्रहरीले जनाएको छ । 

स्थानीयको पूजामा नाच हेर्न गएका युवाहरूबीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो । विवादको क्रममा उनीहरुबीच खुकुरीले हानाहान भएको थियो । 

खुकुरी प्रहारबाट तुलसीपुर –४ बस्ने २८ वर्षका कुलबहादुर ओली, सोही ठाउँ निवासी २२ वर्षका प्रेमप्रकाश खड्का, ३० वर्षका चन्द्रबहादुर ओली, र २८ वर्षका रमेश खड्का घाइते भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार घाइतेमध्ये कुलबहादुर र प्रेम प्रकाशको अवस्था गम्भीर भएको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।