काठमाडौँ / हिजो (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनको मतगणनाको प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ । जिल्लाका केही स्थानीय तहको मत परिणाम आइ सकेको छ भने केही ठाउँमा भर्खरै मतगणना सुरु भएको छ ।
त्यस्तै भरतपुर र र पोखरा महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । बिहान सवा १० बजेसम्मको सुरुवाती अग्रता हेर्दा कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा एमाले रहेको छ ।
कांग्रेसले प्राप्त मतगणना परिणामअनुसार १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले मेयर र उपमेयरमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर र उपाध्यक्षमा जित हासिल गरेको छ ।
अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ । उसले तीन स्थानीय तहमा विजय हासिल गरेको परिणाम प्राप्त भएको छ । एमालेका उपमेयर र उपाध्यक्ष मध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ जना विजयी भएका छन् ।
अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ३२ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर र उपाध्यक्षमा अग्रता लिइरहेको छ ।
जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।