बिर्तामोड / वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदान केन्द्रमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नहुने आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।
त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमुना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाइने आयोगले जनाएको छ । नियमको उल्लङ्घन भएमा कानुन बमोजिम कारबाही हुने आयोगको सूचनामा जनाइएको छ ।