सिराहा / सिराहामा जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएर खोसिएकाको उम्मेदवारी कायम गर्न सर्वोच्चले उत्प्रेषण आदेश दिएको छ । 

सर्वोच्चले कल्याणपुर नगरपालिकामा एकजना मेयरको पदका उम्मेदवार र वडाअध्यक्ष पदका दुई उम्मेदवारको उम्मेदवारी कायम गर्न आदेश दिएको हो । 

OM Sai Pathibhara Hospital

सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले मंगलबार निर्वाचन आयोगको नाममा उत्प्रेषण आदेश जारी गर्दै उम्मेदवारी कायम नै गर्न आदेश दिएको छ ।

सर्वोच्चले कल्याणपुर नगरपालिकाका मेयर पदका प्रत्यासी प्रदीप साह, वडा नम्बर ५ का अध्यक्षका प्रत्यासी ओमप्रकाश यादव र वडा नम्बर १२ का अध्यक्षका प्रत्यासी गयाराम यादवको उम्मेदवारी कायम गर्न आदेश दिएको हो । 

वैशाख १४ गते प्रकाशित भएको उम्मेदवारहरूको सूचीमा समेत उनीहरूको तीनै जनाको नाम समावेश भएको आदेशमा उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय कल्याणपुरले १६ वैशाखमा प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा हस्तलिपिमा थप गरी मेयर उम्मेदवार साहको सट्टा रामबाबु यादव, वडा नम्बर ५ का अध्यक्षका प्रत्यासीमा दीपेन्द्र यादव र वडा नम्बर १२ का अध्यक्षको प्रत्यासीमा गौरीशंकर यादवको नाम राखिएको समेत उल्लेख छ ।