बिर्तामोड / स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ बमोजिम निर्वाचन सुरक्षा परिचालन गरेको हो । 

OM Sai Pathibhara Hospital

मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार नौ सय ४६ अति संवेदनशील र चार हजार चार सय २३ संवेदनशीलको सूचीमा रहेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी भएको जानकारी दिएका छन् । 

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ ।  

सुरक्षाको पहिलो घेरामा म्यादी सहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । 

त्यस्तै, संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ ।  निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमान्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टर सहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । 

सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार सेना समेत निर्वाचन सुरक्षामा खटिएको छ ।