बिर्तामोड / अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढेपछि आयात हुने गरेको इन्धनको खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको  । 

सरकारले इन्धन खपत घटाउनका लागि सातामा दुई दिन बिदा दिने भएपछि यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा हुने भएको हो । 

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्ष ९५ दिन सार्वजनिक बिदा भएको थियो भने यसपालि आइतबार समेत बिदा हुने भएपछि ४१ दिन थपिएको छ । 

सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार समेत बिदा दिने निर्णय गरेपछि यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा हुने भएको हो ।

आठ दिनको बिदा खप्टिएकाले राष्ट्रियस्तरको सार्वजनिक बिदा एक सय २८ दिन हुन्छ । 

५२ वटा शनिबार रहेकोमा ५२ वटा आइतबार थपिएको छ भने चाडपर्व, जन्मजयन्ती, दिवसलगायतका गरी ३२ थपिदा एक सय ३६ दिन पुगेको छ ।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव शिवराम पोखरेलले यसमा आठ दिन बिदा खप्टिएकाले एक सय २८ दिन बिदा हुने भएको बताएका छन् । 

प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति समेतलाई दृष्टिगत गरी वर्षमा संघीय कार्यालयमा समेत लागू हुने गरि अतिरिक्त ६ दिन बिदा दिन सक्ने व्यवस्था रहेको छ । 

इन्धन आयातका लागि ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि खपत घटाउने विकल्पका रूपमा सार्वजनिक बिदा बढाएको हो ।

सार्वजनिक बिदा बढाएसँगै सरकारले कार्यालय समय पनि दिनमा एक घन्टा बढाएको छ । 

सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपराह्न ५:३० बजेसम्म सञ्चालन हुने भएको छ । 

महत्वपूर्ण र आधारभूत सेवा प्रदान गर्ने कार्यालयमा लगातार दुई दिनभन्दा बढी बिदा नदिने समेत सरकारले निर्णय गरेको छ । तर, सो व्यवस्था दसैँ र तिहारका हकमा भने लागू नहुने भनिएको छ ।

पर्यटन मन्त्रालयको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समिति’ले विश्वका एक सय १६ देशमा सातामा पाँच दिन र ११ देशमा मात्र ६ दिन कार्यालय सञ्चालन भएको निष्कर्स निकालेको छ । 

तथ्यांकका अनुसार एसिया महादेशका ४३ देशमध्ये ३८ अर्थात् ८८ प्रतिशतमा सातामा पाँच दिन कार्यदिन रहने गरेको छ । 

सार्क सदस्य राष्ट्रमध्ये नेपालबाहेक सबै देशमा सातामा दुई दिन बिदा दिने प्रावधान रहेको छ । 

०४८ मा तत्कालीन प्रशासन सुधार आयोगले प्रशासन सञ्चालन सहज बनाउन सातामा दुई दिन बिदा दिने सिफारिस गरेको भएकाले यो विषय नेपालमा नयाँ भने होइन  । 

सो सिफारिसका आधारमा ०५६ मा काठमाडौं उपत्यकामा सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरिएपनि त्यसलाई छोटो समयमै खारेज गरिएको थियो ।