म्याग्दी / म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मकवानपुरको कैलास गाउँपालिका- ५ का ३४ वर्षीय सन्तबहादुर तितुङ र अन्नपूर्ण गाउँपालिका- १ दोवा ४३ वर्षीय ट्रकका मालिक खुमबहादुर राम्जाली रहेको प्रहरीले जनाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना भएको हो ।
मंगलबार बेलुका नारच्याङ स्थित निलगिरी हाइड्रोपावरका लागि मकवानपुरको हेटौडाबाट सिमेन्ट ल्याएर अनलोड गरी भुरुङ तातोपानी तर्फ फर्कदै गर्दा मालारानी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएका छन् । बेनी–जोमसोम सडक खण्ड अन्तरगत भूरुङतातोपानी देखि अन्दाजी १५ किलोमिटर सहायक सडकमा दुर्घटना हुँदा गाडी सडक भन्दा करिब ६० मिटर तल खसेको ढकालले बताए ।
दुर्घटनामा परे पछि दुवै जनालाई उपचारका लागि अस्पताल ल्याई पुऱ्याउँदा मृत्यु भै सकेको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताए छन् ।