बिर्तामोड / निर्वाचन कार्यालय झापाले आगामी बैशाखमा ३० मा हुने स्थानीय तहको निर्वाचनका लागी आजदेखि मतदान केन्द्रहरूमा आवश्यक सामग्रीहरू पठाउने तयारी गरेको छ । झापाका २८६ मतदान केन्द्रमा आज र भोलि गरेर दुई दिनमा सबै सामग्री पुराइने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिएका छन् । झापाका २८६ मतदान केन्द्रहरूमा १८ सय नेपाल प्रहरी र २९ सय म्यादी प्रहरीलाई सुरक्षार्थ खटाएको बताइएको छ ।
निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत मार्फत सामग्री पठाउने तयारी गरेको हो । निर्वाचन कार्यालयका प्रमुख नेपालका अनुसार मतपत्र, मतपेटिका र मतदान केन्द्रमा आवश्यक पर्ने सबै प्रकारका सामग्री मतदान अधिकृतहरू मार्फत केन्द्रहरू पठाइनेछ ।
झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । उनले आवश्यक सुरक्षा प्रबन्धसँगै सामग्री पठाउने काम भइरहेको जानकारी दिएका छन् । कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेर मतदान केन्द्रहरूमा खटाइसकिएको उनको भनाई छ । मतदान केन्द्रमा आज र भोलिसम्ममा पत्र पठाइसक्छौँ, उनले भने – माई वारी र पारी गरेर मतपत्र पठाउने तयारी छ ।
यस्तै, सबै पालिकाको मतगणना स्थल सुरक्षाका लागि सिसी क्यामेरा जडानको काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । उनका अनुसार सुरक्षा प्रबन्ध मिलाउने निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आआफ्नो जिम्मेवारी अनुसार तयारी अन्तिम चरणमा पुराएको बताए । झापामा ७ लाख मतपत्र आएको उनको भनाई छ ।