झापा / स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीका अनुसार ड्युटीमा खटिएका मध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक/एक जना म्यादी प्रहरीको मृत्यु भएको हो ।
त्यस्तै सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको केसीले जानकारी दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी –६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा मृत्यु भएको थियो भने हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका –६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
त्यस्तै सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।