काठमाडौं / स्थानीय निर्वाचनका दिन देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षा हुन सक्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।
विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ सहित हलुका वर्षाको सम्भावना छ ।
अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार पश्चिम बङ्गालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहेको छ। दक्षिण बङ्गालको खाडीमा असानी नामको चक्रवात विकसित भइरहेको र उक्त प्रणाली उत्तरपश्चिम भारततर्फ सर्ने क्रममा रहेकाले त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्नसक्ने विभागले जनाएको छ।
विभागले मौसम प्रणालीका कारण मतदान र चुनावी गतिविधिमा पर्नसक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।