काठमाडौँ / केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । 

मंसिर ९ गते सम्पन्न १२औं राष्ट्रिय जनगणनाको लगतलाई गत चैतबाट प्रशोधन कार्य सुरु गरिएको हो । 

OM Sai Pathibhara Hospital

लगत प्रशोधन कार्यमा सय जना ‘कोडररइडिटर’, तीन सय जना ‘डाटा इन्ट्री अपरेटर’ र पचास जना जति कर्मचारी दैनिक खटिएका विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । 

लामिछानेका अनुसार दुई महिनामा ३५ प्रतिशत डेटा कोडिङ र इन्ट्रीको काम सकिएको छ । 

देशभरिबाट संकलित जनगणना फारामलाई कुपण्डोलस्थित विभागको गोदाममा राखिएको छ । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीन तले भवनलाई ‘डाटा सेन्टर’का रूपमा व्यवस्थापन गरिएको छ । सेन्टरमा कोडर, इडिटर, डेटा इन्ट्री अपरेटर, सुपरभाइजर बिहान र दिउँसो गरी दुई सिफ्टमा खटिइरहेका छन् ।

विभागले गत माघमा सार्वजनिक गरेको प्रारम्भिक नतिजाले देशको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० देखाएको छ । 

भौगोलिक जनसङ्ख्याका आधारमा ६ दशमलव ०९ प्रतिशत हिमाली भेगमा बसोबास गर्छन् । पहाडमा ४० दशमलव २५ प्रतिशत र तराई भू–भागमा ५३ दशमलव ६६ प्रतिशत बस्छन् । १० वर्षको अन्तरालमा तराईको जनसंख्या ३ दशमलव ३९ प्रतिशतले बढेको छ । 

त्यसैगरी पहाडको जनसंख्या शून्य दशमलव २४ प्रतिशतले मात्र बढेको देखिन्छ भने हिमालमा शून्य दशमलव ६४ प्रतिशतले जनसंख्या घटेको छ ।