बिर्तामोड / स्थानीय तहको निर्वाचन नजिकिएसँगै भारतमा श्रम गरिरहेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट निर्वाचनकै लागि भारतमा श्रम गर्न गएका नेपालीहरू घर फर्किन थालेका छन् ।
गड्डाचौकी नाकाबाट सामान्यतया १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भएपनि अहिले भने दिनमा ५ सय भन्दा माथिको सङ्ख्यामा घर फर्किरहेका छन् ।
कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढिरहेको बताएका छन् ।
उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरूमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरू धमाधम नेपाल फर्किन थालेको बताएका छन् ।
नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरूले माग गर्दै आएका छन् ।
नेताहरूले जनाएको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनावपछि बिर्सिने गरेको विशेषत मतदान दिनलाई मात्र स्वदेश फर्किएका नागरिकले गुनासो गर्दै आएका छन् ।