सङ्खुवासभा / हिमाली जिल्ला सङ्खुवासभामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको छ। 

मुख्य निर्वाचन कार्यालयले शनिबार भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकामा कर्मचारीसहित मतदान सामग्री पठाएको हो।

OM Sai Pathibhara Hospital

मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जिल्लाकै सबैभन्दा दुर्गम मानिएको भोटखोला गाउँपालिकामा तीन दिनपछि मतदान सामग्री मतदान केन्द्रमा पुग्ने जानकारी दिए। 

सिलिचोङ र मकालुमा भने दुई दिनभित्र मतदान सामग्री पुग्ने छ। कर्मचारी र मतदानका सामग्रीहरू सुरक्षाकर्मीका साथ पठाइएको छ। जिल्लाको अन्य पालिकामा सोमबारसम्म कर्मचारी र निर्वाचन सामग्री पठाइने जनाइएको छ। 

वैशाख २७ गतेभित्र तोकिएको मतदान केन्द्रमा कर्मचारी पुगी सक्ने र मतदानको तयारी गर्नेगरी कार्यतालिका बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान केन्द्रमा पुगेर मतदान स्थल निर्माण, सर्वदलीय तथा सरोकारवालासँगको बैठकलगायतका कार्यहरू गरिने भएकाले कर्मचारीलाई समयमै पठाइएको जनाइएको छ। 

दस स्थानीय तह रहेको सङ्खुवासभामा १६२ वटा मतदान केन्द्रहरू रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा निर्वाचनका लागि ८७९ जना कर्मचारी खटिएका छन्। त्यस्तै एक हजार ९५७ जना सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।  

जिल्लाको १०३ मतदान स्थल मध्ये सात स्थल अति संवेदनशील, १७ संवेदनशील र ७९ मतदान स्थल सामान्य रहेको छ। सङ्खुवासभामा एक लाख १७ हजार ७३१ मतदाता रहेका छन्।