बिर्तामोड / मुलुकमा स्थानीय तह निर्वाचनको लहर लागिरहेको समयमा निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्थाका लागि झापामा मात्रै दुई हजार ९ सय म्यादी प्रहरी परिचालन गरिएको छ ।
स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि भन्दै विशेष तालिम , पारिश्रमिक र सुविधाका साथ प्रदेश एकमा मात्रै १७ हजार भन्दा बढी म्यादी प्रहरी खटाइएको हो ।
तीन हजार एक सय २३ जना गरि सबैभन्दा धेरै म्यादी प्रहरी मोरङमा परिचालन गरिएको छ भने चार सय ४६ जना गरि सबैभन्दा थोरै तेह्रथुममा खटाइएको छ ।
झापामा २ हजार ९ सय १६, सुनसरीमा २ हजार ६५, इलाममा १ हजार ३ सय ७, खोटाङमा १ हजार ८६, उदयपुरमा १ हजार ५, पाँचथरमा ९ सय ३, धनकुटामा ८ सय ५७, सङ्खुवासभामा ८ सय ५१, सोलुखुम्बुमा ७ सय ९९, भोजपुरमा ७ सय ६०, ताप्लेजुङमा ६ सय ५३ र ओखलढुङ्गामा ६ सय ३३ जना म्यादी खटाइने छ ।
प्रत्येक मतदान केन्द्रमा कम्तीमा एक जना महिला सहित पाँच जना म्यादी प्रहरी परिचालन गरिने एक नम्बर प्रदेश प्रहरी कार्यलयले जनाएको छ । निर्वाचनको सुरक्षाका लागि ४० दिनको सुविधा दिने गरी म्यादी प्रहरी परिचालन गरिएको छ ।
एक म्यादी प्रहरीले तलब ३० हजार २ सय ४० , रासन वापत ७ हजार २ सय, पोसाक तथा अन्य सामग्रीका लागि ६ हजार र मतदान केन्द्रमा खटिँदा यातायात खर्च १ हजार गरेर जम्मा ४४ हजार ४ सय ४० रुपैयाँ पाउने छन् ।