काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको भन्दै एक अपरिचित नम्बरबाट फोन आएपनि बम नभएको पुष्टि भएको छ । 

त्रिभुवन विमानस्थलमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि एक घण्टाभन्दा बढी आन्तरिक उडान तर्फका सबै उडान बन्द गरिएको  थियो ।

बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि आन्तरिक उडान रोकिएको हो । 

फोन आएसँगै सेनाको बम डिस्पोजल टोली सहितले जाँच गरेर परिक्षण गर्दा बम नभएको पुष्टि भएको छ । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन गरेर भ्रामक सूचना दिएका थिए । 

नागरिक उड्यन प्राधिकरणका अधिकारीलाई ल्यान्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको छ । थ्रेट कल आएपछि रोकिएको आन्तरिक उडान ११ बजेपछि पुन: सञ्चालन ल्याइएको छ ।