काठमाडौँ / प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई सरकारले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा एआईजीपी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज बुधवार सुनवाई हुने भएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने गरी पेसी तोकिएपछि आज सुनवाई हुने भएको हो ।
रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गर्दै एआईजीपी पोखरेल सर्वोच्च पुगेपछि सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो ।
सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका हुन् ।
एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश माग गरेका छन् ।
नवनियुक्त महानिरीक्षक सिंहले पद बहाली गरिसकेका छन् भने उनको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका पोखरेल भने एक महिना लामो बिदामा रहेका छन् ।