झापा / गोरखामा बेहुली लिएर फर्किरहेको स्कारपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुरको कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेका छन् । 

सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे बेहुली लिएर फर्कने क्रममा रोकिराखेको बा १४ च ७८१ नम्बरको स्कारपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज कोइरालाले जानकारी दिए ।  स्कारपियो आरुबोटेस्थित फिरफिरे भीरबाट झण्डै २०० मिटर तल खसेको थियो ।

OM Sai Pathibhara Hospital

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।

मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।