ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । 

ट्याक निर्माण भएको लामो समयपछि कुल ११ किलोमिटर दूरी रहेको सुकेटार–काफ्लेपाटी सडकखण्ड कालोपत्रे गर्न लागिएको हो ।  

OM Sai Pathibhara Hospital

दर्शनार्थीका कारण अत्यधिक सवारी चाप हुने यो सडक वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । 

उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालय ताप्लेजुङका अनुसार सडक कालोपत्रे गर्ने जिम्मा कन्टेक निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ । 

सडक कालोपत्रे गर्नेलाई अहिले नाली निर्माण, ग्राभेल गर्ने जस्ता कार्यहरू धामधम भइरहेको कन्टेक निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीले जानकारी दिए ।

निर्देशक मैनालीका अनुसार दुईवटा एक्साभेटर लगायत उपकरणको प्रयोग गरी ग्राभेल गर्ने कार्य भइरहेको छ ।

अबको केही दिनभित्रै कालोपत्रे गर्नका लागि आवश्यक पर्ने थप मेसिन तथा उपकरण आइपुग्ने उनले बताए । 

ठेक्का सम्झौता समयअगावै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माणको कार्यलाई तीव्रता दिएको पनि उनले जानकारी दिए । 

यता उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयका सब–इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपियाँ बजेटमा ठेक्का सम्झौता भएको हो । 

लिम्बूले दुई वर्षभित्र उक्त सडकखण्डमा कालोपत्रे निर्माण गरिसक्ने गरी कम्पनीसँग सम्झौता भएको पनि जानकारी दिए ।

पाथीभरा सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर मेची राजमार्ग पर्ने भएकाले पहिले नै कालोपत्रे गरिएको छ ।