काठमाडौँ / नेपालका विभिन्न स्थानमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गाल सम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ ।
उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको छ । आज दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।