बिर्तामोड / देशकै दुई ठूला सुरक्षा संगठनको नेतृत्व स्थानीय सरकार निर्वाचनको मुखमा फेरिने भएको छ । आज आइतबारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजीपी द्वयकै उमेर हदका कारण सेवा अवधि सकिने भएपछि नेतृत्वमा फेरबदल हुने भएको हो ।
दुवै संगठनको नेतृत्व टुंगो लगाउनका लागि आज बिहान ११ बजेबाट बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भइसकेको छ । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) को चयन गर्ने भएको छ ।
दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकार यसको निर्णय गर्न बाध्य भएको हो । सशस्त्र प्रहरी बलका पूर्व आईजीपी शैलेन्द्र खनालले चैत्र २९ गते अवकाश पाएसँगै सरकारले २१ दिनका लागि सशस्त्रको मुख्य नेतृत्वमा पुष्पराम केसीलाई नियुक्त गरेको थियो ।
केसी पनि उमेर हदका कारण आजबाट अनिवार्य अवकाशमा जाने भएपछि सरकारले सशस्त्रमा पनि नयाँ आइजीपीको चयन गर्नु पर्ने अवस्था आएको छ । सरकारले भावी आइजीपीको चयन सहज बनाउनका लागि सशस्त्रको अतिरिक्त महानिरीक्षकमा राजु अर्यालको एकल बढुवा गरेको थियो ।
एआइजीपीलाई मात्र आइजीपीमा नियुक्त गर्ने व्यवस्था भएकाले पनि सरकारले अर्याललाई आइजीपीमा नियुक्त गरेको थियो । एकल आइजीपीमा बढुवा भएका अर्याल नै अवको सशस्त्रको आइजीपी हुने भएका छन् ।
त्यस्तै , नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको पनि आजबाट कार्यकाल सकिने भएपछि सरकारले नेपाल प्रहरीमा नयाँ आइजीपीको चयन गर्ने भएको हो । आईजीपीका लागि चारजना एआईजीहरु प्रतिस्पर्धामा रहेका छन् ।
नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजीबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने व्यवस्था गरिएको छ । हालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा होमिएका छन् ।
देशकै ठूला सुरक्षा सङ्गठनमा निर्वाचनको मुखमा आज हुन लागेको मुख्य नेतृत्वको फेरबदलले निर्वाचन सुरक्षा नै प्रभावित हुने सम्भावना देखिएको छ । नेतृत्व फेरबदलमा राजनीतिक हस्तक्षेप हुने सम्भावना प्रचुर रहेसँगै चुनावी सुरक्षा सहित प्रहरी चेन समेत प्रभावित हुने संकेत देखिएको छ ।