झापा / प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । 

गत चैत २६ गतेदेखि हालसम्म निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको हो । 

OM Sai Pathibhara Hospital

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार ३५ सञ्चार माध्यम मध्ये चार वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई सञ्चार माध्यमले मात्र पेश गरेका थिए । 

उनीहरूले पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको बाेहराले बताए । दुई वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् । 

यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र दुई अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको सूचना अधिकारी बोहराको भनाइ छ । 

प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ । 

निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमबाट आचारसंहिता पालना भएनभएको विषयमा विशेष अनुगमनसमेत गर्दै आएको छ । 

तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउनेतर्फ सबै सञ्चार माध्यमले विशेष ख्याल गर्नुपर्ने र निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनुपर्ने काउन्सिलको भनाइ छ । 

यता नेपाल पत्रकार महासङ्घले पनि निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आह्वान गर्दै आएको छ । 

निर्वाचन आचारसंहिता ०७८ मा कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुनेलगायत सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । 

महासङ्घले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्वीटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने जनाउँदै आएको छ ।