काठमाडौं / सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । तलबी बचत खाता तथा सरल कर्जा सुविधा लगायतका सुविधाका विषयमा सशस्त्र प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायतका सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्का र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
महानिरीक्षक केसीले सङ्गठनले विभिन्न कल्याणकारी योजनामार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न सुविधा प्रदान गर्दै आएको बताएका छन् । सो सम्झौताअन्तर्गत सशस्त्र प्रहरीका कर्मचारीले न्यून शुल्कमा कर्जा सुविधा लगायत विभिन्न सुविधा प्राप्त गर्न पाउने बताएका छन् ।
सम्झौता अनुसार सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकले पाउने तलब भत्ता तथा आर्थिक सुविधा अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने भएको छ ।
सशस्त्र प्रहरीका कर्मचारीले विना धितो पाँच वर्षका लागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा तथा अन्य विविध सुविधासमेत पहिलो वर्षका लागि निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।