काठमाडौँ / नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई एसइई अफर सार्वजनिक गरेको छ । टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।
टेलिकमले पुरानो तथा नयाँ सिममा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल ३० जीबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कूल ३०० मिनेट) र १० एसएमएस (कूल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।
उनका अनुसार अफर भएको नयाँ सिममा ‘बोनस अन रिचार्ज प्याकेज’ समेत उपलब्ध हुनेछ । उक्त अफरमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने सेवा उपलब्ध हुनेछ ।
एसइईका विद्यार्थीका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रुपमा रुपान्तरण गरिएको सिम कार्डमा आवश्यकता बमोजिम ई–शिक्षा प्याकेजसमेत लिन सकिनेछ ।यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।
एसइई उतीर्ण विद्यार्थीले नयाँ सिमका लागि १० कक्षाको कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरद्दी फाराम भर्नुपर्नेछ ।