दार्चुला / महाकाली नदीमा साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको शव ड्रोन क्यामरा मार्फत खोजी गर्ने तयारी भएको छ । सरकारद्वारा गठित छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने जानकारी दिएका छन् ।
धामी बेपत्ता भएको दिनदेखि नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका छन् ।
सशस्त्र प्रहरीले बाइनाकुलर लगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिएका छन् ।
गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ । साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ ।