मोरङ / सामाजिक सञ्जाल फेसबुकमार्फत उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरि गाली गर्ने एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी–४ बस्ने ३३ वर्षीय युवराज खरेल रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उपमेयरलाई भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमा फोटो राखेर अश्लिल शब्द प्रयोग गर्दै गाली गरेको पाइएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपमेयर भण्डारीले आफूलाई अपशब्द प्रयोग गरेर हैरानी पारेको भन्दै प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
गत बिहीबार पक्राउ परेका खरेल विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेको थियो । म्याद थप पछि घटनाका बारेमा थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिएका छन्।