काठमाडौँ / वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारहरू र उच्च शिक्षा हासिल गर्न जान चाहने युवायुवतीहरु म्यानपावर कम्पनी र एजेन्टबाट ठगिँदै आएका छन् । उनीहरु राहदानी लिएदेखि विदेश पुग्दासम्म विभिन्न बहानामा ठगिने गरेका छन् ।
क्रोएसिया, इस्टोनिया, क्यानडा, दुबई , कतार लगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई पैसा उठाएर मेनपावर व्यवशायी फरार हुने गरेको पाईएको छ ।
कोरोना महामारीका बीच इस्टोनिया उड्ने आशा बोकेर छथर गाउँपालिका ४ धनकुटाका हेमबहादुर तामाङ गत साता काठमाडौं आएका थिए । चुच्चेपाटीको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत कर्मा तामाङले उनलाई आउने शनिबार उडाइदिने भन्दै पटकपटक गरेर २ लाख ८० हजार रुपैयाँ बुझेका थिए ।
इस्टोनियमा मासु काट्ने र प्याकिङ गर्ने काम मिलाइदिने र त्यसबापत मासिक ८ सय ५० युरो तलब हुने आश्वासन देखाएका कर्माले हेम र उनको गाउँ छिमेकका चार जनाको झन्डै १६ लाख रुपैयाँ बुझेका छन् । हेमले घरबाटै मनी ट्रान्सफरमार्फत र काठमाडौं कार्यालयमा आईवरी कर्मालाई पैसा बुझाएका थिए । गत आइतबार मेनपावर अफिसमा ताल्चा लगाएर मान्छे फरार भएको हेम बताउछन् ।
कार्यालयको कागजात अनुसार नुवाकोट स्थायी ठेगाना भएका कर्माले उक्त कन्सल्टेन्सी २०७६ साउन २७ गते आन्तरिक राजस्व विभागमा दर्ता गरेर सञ्चालन गरेको देखिन्छ । विभिन्न युरोपेली देश उडाइदिने आश्वासन देखाएर उनले करिब सय जनालाई ठगेको छन् । पीडितले छुट्टाछुट्टै तयार पारेको विवरण हेर्दा कर्माले ती सबैबाट करिब साढे २ करोड रुपैयाँ उठाएको देखिन्छ । पीडितले १ लाख देखि ८ लाख रुपैयाँसम्म कर्मालाई बुझाएका थिए । धेरैजसो पीडित पूर्वी पहाडी जिल्लाका छन् । तीमध्ये धेरैजसो साक्षरता कम भएका र बेरोजगार छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र वैदेशिक रोजगारीका नाममा संस्थागत र व्यक्तिगत गरी १ अर्ब ३४ करोड ९० लाख ठगीको बिगो दाबीसहित उजुरी परेको छ । संस्थागत ९७ करोड ४९ लाख ७३ हजार ३ र व्यक्तिगत ३४ करोड ५८ लाख ७८ हजार रुपैयाँ रोजगारीका नाममा ठगिएको उजुरी परेको विभागले जनाएको छ ।