झापा / कोरोना संक्रमितको दर बढ्ने क्रमसँगै गत साउन १६ गतेदेखि झापा जिल्लामा लागु भएको निषेधाज्ञा ३२ गतेसम्म थप भएको छ । शुक्रबार (आज) बसेको जिल्ला कोभिड व्यवस्थापन समिति(डिसीसीएमसी) को बैठकले साउन महिनाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यो अवधिभर औषधी, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ । विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, फलफुल, माछामासु बिक्री गर्न पाइने जनाइएको छ ।
अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगन गर्ने बैठकले जनाएको छ । कर्मचारीले विहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र सरकारी तथा निजी सवारी साधानमा आवतजावत गर्ने पाउने निर्णय बैठकले गरेको छ।
बैंक तथा वित्तीय संस्थाले न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको ३ दिन कार्यालय सञ्चालन गर्न पाउने बैठकले निर्णय गरेको छ ।