नवलपुर / भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।
पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी ( बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका –१ बाट ७८ लाख मूल्य बराबरको ५९५ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।
इलाका प्रहरी कार्यालय दुम्किबासबाट परिचालन भएको प्रहरी टोलीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैध रूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरेको गिरीले जानकारी दिएका छन् ।
भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका –८ का अर्जुन ढकाल र भरतपुर –२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद भयेको मोबाइल सहित उनीहरूलाई आज भन्सार कार्यालय पठाइने उनको भनाइ छ ।