काठमाडौं । एमालेसँग भएको तीन बुँदे सत्ता सहमतिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि चुलिएको छ। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति असहमति जनाएका माधव नेपाललाई मनाउन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवासमै पुगेका हुन्।

स्रोतका अनुसार दुई नेताबीच भएको भेटमा प्रचण्डले एमालेसँग सहमति गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गरेका छन्। यही विषयलाई लिएर माधव नेपालले आइतबार आफ्ना निकट नेताहरूसँग छुट्टै छलफलसमेत गरेका थिए।शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले लिने सहमति भएको छ। तर, कोशी सरकार एमालेको नेतृत्वमा जाने निर्णयलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेपछि प्रचण्ड–माधव भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

आन्तरिक असन्तुष्टि सार्वजनिक हुन थालेसँगै सत्ता समीकरणभित्रको विश्वास र सहमतिको भविष्यलाई लिएर राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।