काठमाडौं । बैंकिङ प्रणालीमा लगानी हुन नसकी ठूलो परिमाणमा रकम थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने निर्णय गरेको छ। अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १७९ दिनका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा खर्बौँ रुपैयाँ लगानीयोग्य पुँजी निष्क्रिय रहेकाले मौद्रिक व्यवस्थापनअन्तर्गत यो रकम प्रशोचन गर्न लागिएको हो। निक्षेप संकलनको बोलकबोल सोमबार नै हुनेछ।
इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा र ब्याज आगामी माघ ८ गते भुक्तानी गरिनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ।
राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न बारम्बार यस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।




































