काठमाडौं । न्यायिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सर्वोच्च अदालतले नयाँ डिजिटल प्रणाली लागू गरेको छ। अबदेखि सर्वोच्च अदालतका इजलासबाट जारी हुने आदेशहरू जारी भएकै दिन विद्युतीय प्रणाली अनलाइन मा अपलोड गरिनेछन्।

सोमबारदेखि लागू भएको यो व्यवस्थाअनुसार प्रधानन्यायाधीशसहित सबै इजलासका आदेश तत्काल प्रणालीमा प्रविष्ट हुनेछन्। यसले मुद्दाका पक्ष, कानुन व्यवसायी र सम्बन्धित निकायले अदालत धाइरहनुपर्ने झन्झटबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाको अर्को महत्वपूर्ण पक्ष भनेको सर्वोच्चका आदेशको प्रमाणित प्रतिलिपि अब देशभरका कुनै पनि अदालतबाट प्राप्त गर्न सकिने सुविधा हो। यसले सेवाग्राहीको समय, खर्च र यात्रा घटाउने मात्र होइन, न्यायिक सेवामा समान पहुँच पनि विस्तार गर्ने विश्वास सर्वोच्चको छ।

सर्वोच्चका अनुसार यो प्रणालीले कागजी प्रक्रियामा निर्भरता घटाउने, अदालतहरूबीचको डिजिटल समन्वय बलियो बनाउने, अभिलेख सुरक्षित राख्ने र भविष्यमा पूर्ण डिजिटल न्याय प्रणालीको आधार तयार गर्ने लक्ष्य राखेको छ।