काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीमाथि भएको कुटपिटको घटनापछाडिको मुख्य कारण आर्थिक लेनदेन विवाद रहेको खुलेको छ। झापा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा चिनेकै साथीहरूबीच भएको रकमको हिसाब नमिल्दा विवाद चर्किएर कुटपिटसम्म पुगेको निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार केही साथीहरूबीच भएको आर्थिक कारोबार फिर्ता गर्ने विषयमा सहमति नजुटेपछि विवाद हातहालाहालको अवस्थामा पुगेको थियो। घटना भएको जानकारी पाएलगत्तै प्रहरीले अशोकलाई सम्पर्क गरी छलफलका लागि बोलाए पनि चलचित्रको प्रचारका लागि काठमाडौं जानुपर्ने भन्दै उनी तत्काल उपस्थित हुन सकेका थिएनन्।
तर, कुटपिटको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि अशोकले इलाका प्रहरी कार्यालय अनारमनीमा औपचारिक उजुरी दिएका छन्। उनले आफूलाई ‘चोर’ भन्दै कुटपिट गरिएको, भिडियो बनाएर चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा फैलाइएको आरोप लगाएका छन्।
उजुरीमा उनले भिडियो हटाइदिन पटक–पटक आग्रह गर्दा पनि नमानेको उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। हाल मुख्य भूमिकामा अभिनय गरेको चलचित्र ‘पावर्ती’ प्रदर्शनको तयारीमा रहेका अशोक केही महिनायता काठमाडौं छाडेर आफ्नै घर झापामा बस्दै आएका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।




































