काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा सोमबार हुने तय भएको नेपाल–नामिबिया एकदिवसीय खेल वर्षाका कारण प्रभावित बनेको छ। निर्धारित समयमै सुरु हुनुपर्ने खेलमा लगातार पानी परेपछि टससमेत हुन सकेन, जसले मैदानभन्दा बढी मौसमले खेलको चर्चा तान्यो।

लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रने तयारीमा थियो। तर उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा परेको वर्षाले खेल तालिका नै प्रभावित बनायो। आयोजकले मैदान निरीक्षण गरिरहे पनि टस ढिलो हुँदा खेलको सुरुवात अनिश्चित बनेको छ।नेपाल यसअघि नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ। त्यसैले अंक तालिकामा पुनरागमनका लागि यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको थियो।

यता नामिबिया पनि दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा थियो। नेपाललाई हराएर आत्मविश्वास बढाएको नामिबिया भने पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो।अब सबैको नजर मौसममा टिकेको छ। वर्षा रोकिएर मैदान खेल्न योग्य बनेमा खेल सञ्चालन हुनेछ, अन्यथा नेपालले पहिलो जितका लागि थप प्रतीक्षा गर्नुपर्ने अवस्था आउन सक्छ।