काठमाडौं । साताको पहिलो कारोबार दिन उत्साहजनक सुरुआत गरेको सेयर बजार अन्तिम समयसम्म टिक्न सकेन। कारोबारको बीचमै उच्च विन्दु छोएको नेप्से अन्त्यमा तीव्र दबाबमा पर्दै ३३.२८ अंकले घटेर २७०१ बिन्दुमा झरेको छ। बजार खुलेपछि खरिदकर्ता सक्रिय देखिए पनि दिउँसोपछि बिक्री चाप ह्वात्तै बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्यो। कुल २७५ कम्पनीमध्ये २३५ कम्पनीको मूल्य घट्दा केवल ३५ कम्पनीको मूल्य बढ्न सफल भए भने ५ कम्पनी स्थिर रहे।
बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढ्यो। अघिल्लो दिनको ४ अर्ब ६७ करोड रुपैयाँको तुलनामा सोमबार ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा सक्रियता भने कायमै रहेको संकेत दिएको छ।क्षेत्रगत रूपमा बैंकिङ समूह सामान्य हरियो रहे पनि उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, विकास बैंक, बीमा र माइक्रोफाइनान्सलगायत अधिकांश उपसूचक राताम्मे भए।
यता हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै बढ्ने कम्पनीमध्ये रह्यो भने आत्मनिर्भर लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कालंगा हाइड्रोपावर र सालपा विकास बैंकमा उच्च गिरावट देखियो। रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्समा सबैभन्दा बढी कारोबार भएको छ।




































